नुवाकोटको समुन्द्रटार बजार क्षेत्रमा तीन दिन सवारी आवागमन बन्द
नुवाकोट, असार ४ — निर्माणाधीन गंगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडकखण्ड अन्तर्गत दुप्चेश्वर गाउँपालिका–६ स्थित समुन्द्रटार बजार क्षेत्रमा सडक विस्तार कार्यका लागि तीन दिन सवारी आवागमन बन्द गरिने भएको छ।
दुप्चेश्वर गाउँपालिकाले जारी गरेको सूचनाअनुसार समुन्द्रटार बजारको स्वास्थ्य चौकी भवनदेखि प्रहरी चौकीसम्मको भिरालो क्षेत्रमा सडक विस्तार गर्नुपर्ने भएकाले यही असार ६ गते शनिबारदेखि लगातार तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा सवारी सञ्चालन रोकिनेछ।
उक्त क्षेत्रमा वैकल्पिक सडकसमेत नरहेको र निर्माण व्यवसायीको अनुरोधमा सडक बन्द गरी निर्माण कार्य अघि बढाउन लागिएको गाउँपालिकाले जनाएको छ।
सडक बन्द रहने अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि माथिल्लो भेगमा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको जनाइएको छ। साथै दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्री ढुवानीका लागि वैकल्पिक व्यवस्थापन गर्न स्थानीयवासी, व्यवसायी तथा सरोकारवालालाई गाउँपालिकाले अनुरोध गरेको छ।
निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन अस्थायी रूपमा सवारी आवागमन बन्द गर्नुपरेको भन्दै गाउँपालिकाले सर्वसाधारणको सहयोग र समझदारीको अपेक्षा गरेको छ।

