बजेट पारित, आगामी आर्थिक वर्षका लागि सरकारलाई खर्च गर्ने बाटो खुला
काठमाडौं, असार ४ । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक प्रतिनिधि सभाको बिहीबारको बैठकबाट बहुमतले स्वीकृत भएको हो।
विनियोजन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट पनि औपचारिक रूपमा पारित भएको छ। विनियोजन विधेयकले सरकारको खर्चसम्बन्धी व्यवस्था समेट्ने भएकाले यसको स्वीकृतिसँगै बजेट कार्यान्वयनको संवैधानिक आधार सुनिश्चित भएको हो।
सरकारले बजेट प्रस्तुत गर्दा विनियोजन विधेयकसँगै राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयकलगायत अन्य सम्बन्धित विधेयकहरू पनि संसद्मा पेश गर्ने गरेको छ।
विधेयक पारित हुनुअघि प्रतिनिधि सभामा विभिन्न मन्त्रालय तथा निकायको बजेटमा खर्च कटौती गर्न माग गर्दै दर्ता गरिएका करिब डेढ दर्जन प्रस्तावहरू भने अस्वीकृत भएका थिए।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गत जेठ १५ गते २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो।विनियोजन विधेयक पारित भएसँगै उक्त बजेट कार्यान्वयनको प्रक्रिया अघि बढ्ने भएको छ।

