थप चिया उद्योग बन्द, सरकारलाई ध्यानाकर्षण
इलाम,असार ५ । भारतीय बजारमा नेपाली चिया निर्यातमा कडाइ भएपछि इलामसहित विभिन्न जिल्लाका थप चिया उद्योग बन्द भएका छन्।
टी एलाइन्स अफ नेपाल (टान) का अनुसार इलाम, पाँचथर, कास्की र भोजपुरका १६ उद्योग तथा झापाका ३० उद्योग बिहीबारदेखि बन्द भएका हुन्। इलाममा मात्रै हालसम्म ७९ चिया उद्योग बन्द भइसकेका छन्।
चिया व्यवसायीहरूले चियाको सहज निकासी र वैदेशिक बजार विस्तारका लागि सरकारले प्रभावकारी पहल नगरेसम्म उद्योग सञ्चालन नगर्ने बताएका छन्। उनीहरूले भारतीय टी बोर्डले लागू गरेको नयाँ एसओपीलाई नेपाली चियामाथिको अवरोधका रूपमा व्याख्या गरेका छन्।
यसैबीच, चिया किसान र उद्योगीहरूले जिल्ला प्रशासन कार्यालय इलाममार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै निकासी समस्या समाधान र किसानको क्षति रोक्न तत्काल पहल गर्न माग गरेका छन्।

