करदातालाई छुटदेखि पूर्वाधारमा जोड : काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट
काठमाडौं, असार ५ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखिएको छ।
कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड रुपैयाँ पूर्वाधार विकासमा विनियोजन गरिएको छ। साथै ‘एक वडा, एक उद्यम’ कार्यक्रममार्फत रोजगारी सिर्जना, सम्पदा संरक्षण, प्रदूषण नियन्त्रण तथा सार्वजनिक यातायात व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ।
महानगरले अशक्त तथा ज्येष्ठ नागरिकलाई घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ। राजस्व संकलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गरिने तथा असोज मसान्तभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट र बक्यौता कर तिर्नेलाई जरिबाना मिनाहा गरिने व्यवस्था बजेटमा समावेश गरिएको छ।

