शिवपुरी गाउँपालिकाको गाउँसभा सम्पन्न, सर्वसम्मत रूपमा बजेट पारित
नुवाकोट, असार ६ — नुवाकोटको शिवपुरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्दै गाउँसभाको १८औँ अधिवेशन सम्पन्न गरेको छ। गाउँसभाले पाँच वर्षे कार्यकालको अन्तिम बजेट अधिवेशनलाई सहमति, समन्वय र एकताको सन्देशसहित सम्पन्न गरेको हो।
शिवपुरी गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अध्यक्ष गोविन्दप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा गाउँसभा सदस्य, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। अधिवेशनमा विषयगत समितिहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट सभामा पेश गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।
गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसमाथि विस्तृत छलफल गरिएको थियो। बजेटमाथिको छलफलका क्रममा गाउँसभा सदस्यहरूलाई आफ्ना धारणा, सुझाव र जिज्ञासा राख्ने अवसर प्रदान गरिएको थियो। सदस्यहरूले विकास, सेवा प्रवाह तथा आगामी योजनासम्बन्धी विषयमा आफ्नो भनाइ राखेका थिए।
विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरू रहे पनि गाउँपालिका नेतृत्व, उपाध्यक्षको समन्वयकारी भूमिका, प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापकीय दक्षता तथा वडा तहका जनप्रतिनिधिहरूको धैर्य र सहकार्यका कारण अधिवेशन विवादरहित रूपमा सम्पन्न भएको सहभागीहरूको भनाइ छ।
बजेट पारित गर्ने क्रममा सहमति र असहमतिका विषयहरू खुला रूपमा छलफल गरी अन्ततः सबै सदस्यले समर्थन जनाएपछि बजेट सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। पाँच वर्षको कार्यकालको अन्तिम बजेट पारित हुँदै गर्दा केही गाउँसभा सदस्य भावुक समेत बनेका थिए।
स्थानीय तहमा सहमति, पारदर्शिता र लोकतान्त्रिक अभ्यासको उदाहरण प्रस्तुत गर्दै सम्पन्न भएको शिवपुरी गाउँपालिकाको यो अधिवेशन जिल्लाकै नमुना गाउँसभाका रूपमा चर्चित बनेको छ।

