कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको चेतावनी



काठमाडौँ,असार ७ । देशभर मनसुनी, पश्चिमी तथा स्थानीय वायुको मिश्रित प्रभाव कायम रहँदा आज कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा, चट्याङ तथा तातो लहरको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको जोखिम रहेका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्