उन्डाभको दुई गोलमा जर्मनी नकआउट चरणमा, आइभरी कोस्ट पराजित



एजेन्सी,असार ७ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै एक खेल अगावै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

टोरन्टो स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टले पहिलो गोल गर्दै अग्रता लिए पनि जर्मनीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। जर्मनीका वैकल्पिक खेलाडी डेनिज उन्डाभले दुई गोल गर्दै टोलीको जितका नायक बने।

आइभरी कोस्टका कप्तान फ्रान्क केस्सीले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यान डियोमान्डे र अमाद डियालोको संयोजनमा सिर्जना भएको अवसरलाई केस्सीले सदुपयोग गरेका हुन्।पहिलो हाफमा जर्मनीले दुई पटक गोल गरे पनि दुवै प्रयास अमान्य घोषित भएका थिए। आलेक्सान्डार पाभ्लोभिचको हेडर फाउलका कारण रद्द भयो भने काई हाभेर्ट्जको गोलले पनि मान्यता पाएन।

दोस्रो हाफमा प्रशिक्षक युलियन नागेल्समानले गरेका परिवर्तन प्रभावकारी बने। ६८औँ मिनेटमा नादिम अमिरीको क्रसमा उन्डाभले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

खेल बराबरीतर्फ अघि बढिरहेका बेला इन्जुरी समयको चौथो मिनेटमा उन्डाभले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को रोमाञ्चक जित दिलाए। फेलिक्स नमेचाको पासमा उनले गोलरक्षक याहिया फोफानालाई छक्याउँदै निर्णायक गोल गरेका थिए।

यसअघि कुरासाओविरुद्धको ७–१ को जितमा पनि प्रभावशाली प्रदर्शन गरेका उन्डाभले यस खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै पुनः टोलीका लागि निर्णायक भूमिका निर्वाह गरे।

यो जितसँगै चार पटकको विश्वकप विजेता जर्मनीले समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम १६ मा स्थान बनाएको छ। पराजित भए पनि आइभरी कोस्टको नकआउट चरण पुग्ने सम्भावना भने कायम रहेको छ। अन्तिम खेलमा कुरासाओलाई पराजित गर्न सके आइभरी कोस्ट पनि अघिल्लो चरणमा प्रवेश गर्न सफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्