ककनीमा महिलाका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर, सयभन्दा बढी लाभान्वित
नुवाकोट, असार ७ – ककनी गाउँपालिकाले महिलाहरूको स्वास्थ्य समस्यालाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य परीक्षण (स्क्रिनिङ) शिविर सञ्चालन गरेको छ।
गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरूको स्तन क्यान्सर, प्रसूति फिस्टुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर तथा अन्य प्रजननसम्बन्धी रोगहरूको परीक्षण गरिएको थियो।
ककनी गाउँपालिकाकी उपाध्यक्ष मिठ्ठुमाया लामाले शिविरमा महिलाहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै करिब एक सयभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो। उहाँका अनुसार बेलकोटगढी नगरपालिकाका केही क्षेत्रबाट समेत महिलाहरू सेवा लिन आएका थिए।
स्थानीय तहमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदा महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै उपाध्यक्ष लामाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा चिकित्सक डा. स्वीकृति सुवेदीले प्रदान गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखाकी पब्लिक हेल्थ नर्स रिचा रुपाखेतीले ग्रामीण भेगका महिलाहरूमा देखिने प्रजनन स्वास्थ्यसम्बन्धी गम्भीर समस्याको समयमै पहिचान र उपचारमा सहज पहुँच पुर्याउनु शिविरको मुख्य उद्देश्य रहेको बताउनुभयो।

