रास्वपाको बन्दसत्र आजदेखि, नेतृत्व चयन प्रक्रिया पनि सुरु हुँदै
चितवन,असार ८ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुने भएको छ। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रका लागि दुईवटा ठूला हल तयारी अवस्थामा राखिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था गरिएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गरेर हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यस्तै महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने तथा सहमहामन्त्रीमार्फत पार्टी विधानमाथि छलफल र अनुमोदन गरिनेछ।
बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची तय गरिएको छ।
दिउँसो १ बजेपछि निर्वाचन प्रक्रियासम्बन्धी तालिका सार्वजनिक गरिनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सोही समयदेखि उम्मेदवारी फाराम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गरिनेछ। साँझ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरी दाबी–विरोध, जाँचबुझ तथा नाम फिर्ता प्रक्रियापछि राति ११ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ।
महाधिवेशनमा चार हजार २११ प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सहभागी हुने रास्वपाले जनाएको छ। असार ९ गते बिहान ८ः३० बजेदेखि पहिलो चरणको मतदान सुरु हुने छ, जसअन्तर्गत एक सभापति र ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान गरिनेछ।मतगणना सम्पन्न भएपछि नतिजा घोषणा गरी आवश्यक परे दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।

