विश्वकपमा केप भर्डेको ऐतिहासिक प्रदर्शन, उरुग्वेसँग २–२ को बराबरी



एजेन्सी,असार ८ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ।

मियामीमा सम्पन्न खेलमा केप भर्डेले २१औँ मिनेटमा केभिन पिनाको आकर्षक फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो। उक्त गोल केप भर्डेको विश्वकप इतिहासकै पहिलो गोल बनेको छ।

गोल खाएपछि उरुग्वे खेलमा फर्कियो। ४४औँ मिनेटमा म्याक्सी अराउजोले बराबरी गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोब्बियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।
तर दोस्रो हाफमा केप भर्डेले उत्कृष्ट पुनरागमन गर्‍यो। ६१औँ मिनेटमा हेलियो भारेलाले उरुग्वेको रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।

खेलको अन्त्यतिर उरुग्वेका फेडेरिको भाल्भेर्देको गोल अफसाइडका कारण मान्यता नपाएपछि दुवै टोली अंक बाँड्न बाध्य भए। यो नतिजासँगै केप भर्डेले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ।पहिलो खेलमा उसले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। समूह ‘एच’मा उरुग्वे र केप भर्डे दुवैको दुई खेलबाट समान दुई अंक रहेको छ र दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कायम छ।

विश्वकपमा पहिलो पटक सहभागिता जनाएको केप भर्डेले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेको छ। अब अन्तिम समूह खेलमा उसले साउदी अरेबियाको सामना गर्नेछ। उक्त खेलमा जित हात पारे केप भर्डेले इतिहास रच्दै नकआउट चरणमा स्थान बनाउन सक्छ।केप भर्डेका मिडफिल्डर केभिन पिना खेलको उत्कृष्ट खेलाडी घोषित भए। उनले टोलीका लागि ऐतिहासिक पहिलो विश्वकप गोल गर्दै स्मरणीय प्रदर्शन गरे।

प्रतिक्रिया दिनुहोस्