रास्वपा महाधिवेशनको बन्दसत्र सुरु हुँदै, प्रतिनिधि हलमा प्रवेश
चितवन,असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधिहरू हलभित्र प्रवेश गर्न थालेका छन्। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्रका लागि बिहानैदेखि तयारी तीव्र पारिएको छ।
बन्दसत्र बिहानदेखि सुरु गर्ने कार्यतालिका भए पनि आवश्यक व्यवस्थापनका काम बाँकी रहेकाले केही घण्टा ढिलो हुन सक्ने नेताहरूले बताएका छन्। प्रदर्शनी केन्द्रका तीन ठूला हलमध्ये दुई हल बन्दसत्रका लागि तयार पारिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाजा तथा भोजनको व्यवस्था गरिएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ। साथै कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि पनि छलफल गरिने कार्यसूची छ।
आजकै बन्दसत्रमा महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने, त्यसमाथि छलफल तथा अनुमोदन गरिने जनाइएको छ।
बन्दसत्रको अन्त्यतिर सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनअन्तर्गत आजै विभिन्न पदका उम्मेदवारहरूको मनोनयनका लागि आवेदन फाराम वितरण गरिने जानकारी दिएका छन्।

