नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ



भक्तपुर,असार ९ । भक्तपुरको नगरकोटमा सामान्य विवादका क्रममा भएको झैँझगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार असार ८ गते राति करिब १० बजे भक्तपुर नगरपालिका–१ नगरकोट क्षेत्रमा भएको घटनामा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइली गम्भीर घाइते भएका थिए।

घाइते रसाइलीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा असार ९ गते बिहान ६:१५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्