हालान्डको दुई गोल, नर्वे सेनेगललाई ३–२ ले हराउँदै विश्वकपको अन्तिम ३२ मा



काठमाडौँ, असार ९ । एर्लिङ हालान्डको दुई गोलको मद्दतमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ ।

खेलको ४३ औं मिनेटमा सेनेगलका कप्तान कालिदु कुलिबालीको खराब क्लियरन्सको फाइदा उठाउँदै मार्कस पेडरसनले नर्वेलाई अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा एर्लिङ हालान्डले गोल गर्दै अग्रता दोब्बर बनाए । यससँगै हालान्ड नर्वेको विश्वकप इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले यसअघि पहिलो खेलमै दुई गोल गरेका थिए ।

५३ औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा फर्काउने प्रयास गरे । तर ५८ औं मिनेटमै हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता सुरक्षित बनाए ।

हालान्डले पछिल्ला १२ खेलमा लगातार गोल गर्दै आएका छन् भने पछिल्ला ६ खेलमा लगातार दुई वा सोभन्दा बढी गोल गर्ने कीर्तिमान पनि कायम गरेका छन् ।

इन्जुरी समयको तेस्रो मिनेटमा सारले फेरि गोल गरे पनि सेनेगलले बराबरी गर्न सकेन । अन्तिम क्षणमा आएको हेडर प्रहार बाहिरिँदा सेनेगलको आशा समाप्त भयो ।

हालान्डले खेलभर गोलका थुप्रै अवसर सिर्जना गरे । पहिलो हाफमा उनले मार्टिन ओडेगार्डलाई उत्कृष्ट पास दिए पनि गोल हुन सकेन । त्यसपछि उनले गोलकिपर एडुआर्द मेन्डीमाथि दबाब सिर्जना गर्दै आक्रामक प्रदर्शन गरे ।

समूहको अर्को खेलमा फ्रान्सले इराकलाई ३–० ले हराएको छ । यससँगै फ्रान्स र नर्वे लगातार दुई खेल जित्दै एक खेल बाँकी छँदै नकआउट चरणमा प्रवेश गरेका छन् । अब यी दुई टोलीबीच समूह विजेताको टुङ्गो लाग्नेछ भने सेनेगल र इराकबीच अर्को खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्