पोखराका होटल भारतीय पर्यटकले भरिभराउ, पर्यटन गतिविधि बढ्यो



पोखरा, असार ९  । पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै यहाँका होटलहरू भरिभराउ भएका छन् । लेकसाइड क्षेत्रदेखि तालछेउका पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको चहलपहल अत्यधिक देखिएको छ ।

गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू फेवातालको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथलगायत स्थानमा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । भारतमा बढ्दो गर्मीबाट राहत खोज्दै तथा बिदाको सदुपयोग गर्न भारतीय पर्यटकले नेपाललाई सहज र आकर्षक गन्तव्यका रूपमा रोज्न थालेको उहाँको भनाइ छ ।

पर्यटक आगमन बढेसँगै डुङ्गा सयर, पदयात्रा, प्याराग्लाइडिङलगायत पर्यटन गतिविधि पनि बढेका छन् । फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकका अनुसार फेवातालमा दैनिक चारदेखि पाँच हजारसम्म भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेका छन् । पछिल्लो डेढ महिनादेखि भारतीय पर्यटकको उल्लेख्य उपस्थितिका कारण तालछेउका व्यवसाय पुनः चलायमान भएको उहाँले बताउनुभयो ।

पर्यटन व्यवसायीका अनुसार बाराही घाटबाट मात्र दैनिक करिब १४० डुङ्गा सञ्चालनमा छन् । लामो समयसम्म ग्राहकको अभाव झेलेका व्यवसायी अहिले पर्यटकको भीडले उत्साहित बनेका छन् । टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाका अनुसार पछिल्लो डेढ महिनामा मात्र करिब डेढ लाख भारतीय पर्यटक पोखरा आएका छन् । उनीहरू धार्मिक स्थल भ्रमणसँगै छोटो दूरीका पदयात्रा, प्याराग्लाइडिङ, बन्जी जम्प र राफ्टिङजस्ता गतिविधिमा सहभागी भइरहेका छन् ।

होटल व्यवसायी पार्वती पाण्डेले भारतीय पर्यटकले कोठाभन्दा पनि खानामा बढी मोलमोलाइ गर्ने गरेको बताउनुभयो । तर होटल रुमको मूल्यप्रति उनीहरू कम संवेदनशील रहने गरेको उहाँको भनाइ छ । अहिले पोखराका होटल, लजदेखि धर्मशालासम्म करिब ९० प्रतिशत अकुपेन्सी पुगेको व्यवसायीहरूले बताएका छन् ।

पर्यटन व्यवसायीहरूले यसलाई ‘अफसिजन’मा देखिएको सकारात्मक संकेतका रूपमा लिएका छन् । नेपाली नयाँ वर्षपछि सुरु भएको पर्यटक आगमनको लहर निरन्तर रहँदा व्यवसायीहरू उत्साहित बनेका छन् । पोखरामा एकैदिन करिब १० हजार पर्यटक अटाउन सक्ने होटल क्षमता रहेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूले नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको भारतमा अझ प्रभावकारी प्रचारप्रसार गर्न सके भारतीय पर्यटकको आगमन अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्