प्रतिनिधि परिचयपत्र विवादले रास्वपाको बन्दसत्र एक दिन सर्यो
चितवन, असार ९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण र विवरण प्रमाणीकरणको काम समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको छ।
भरतपुरमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीष झाले प्रतिनिधिहरूको आधिकारिक विवरण यकिन गर्ने, नामावली प्रमाणीकरण गर्ने तथा परिचयपत्र छपाइ र वितरणमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र सार्नुपरेको जानकारी दिनुभयो।
उहाँका अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने थलो भएकाले प्रतिनिधि व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन विशेष सावधानी अपनाइएको छ। देशभरबाट आएका प्रतिनिधिहरूको विवरण रुजु गर्ने कार्य जारी रहेकाले सो प्रक्रिया पूरा नभएसम्म बन्दसत्र सुरु गर्नु उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको उहाँले बताउनुभयो।
प्रवक्ता झाले विशेषगरी मधेश प्रदेशबाट आउने प्रतिनिधिको सङ्ख्याबारे स्पष्ट विवरण प्राप्त नभएकाले समस्या देखिएको उल्लेख गर्नुभयो। मौखिक रूपमा पाँच सयभन्दा बढी प्रतिनिधि हुने जानकारी आए पनि वैधानिक रूपमा कति प्रतिनिधि सहभागी हुने भन्ने विषय यकिन भएपछि मात्र प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो।
उहाँले महाधिवेशनमा सहभागी हुन नपाएका प्रतिनिधि पाँच वर्षसम्म अवसरबाट वञ्चित हुन सक्ने भएकाले एक दिनका लागि कार्यक्रम सारिएको स्पष्ट पार्दै यससँगै महाधिवेशनको अवधि पनि एक दिन थपिने बताउनुभयो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधि परिचयपत्र वितरणलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार तयार भइसकेका परिचयपत्र सोमबार साँझदेखि वितरण गरिने र बाँकी परिचयपत्र मङ्गलबार बिहानसम्म उपलब्ध गराइनेछ। सबै प्रतिनिधिले परिचयपत्र प्राप्त गरेपछि मात्रै बन्दसत्र सञ्चालन गरिने उहाँले बताउनुभयो।
निर्वाचनसम्बन्धी आवश्यक तयारी पूरा भइसकेको जनाउँदै केसीले प्रतिनिधि व्यवस्थापनको काम सकिएलगत्तै विधानअनुसार नेतृत्व चयनको प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो।
रास्वपाले मङ्गलबार दिउँसो १२ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी गरेको जनाएको छ। बन्दसत्रमा विभिन्न प्रस्तावमाथि छलफल हुनुका साथै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि आवश्यक परे निर्वाचनमार्फत नेतृत्व चयन गरिने पार्टीले जनाएको छ।
पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई सङ्गठनात्मक विकास, संस्थागत सुदृढीकरण तथा भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, सङ्गठन विस्तारको रणनीति तथा विधानसम्बन्धी विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
यसबीच बन्दसत्र स्थगित हुँदा प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूलाई परेको असुविधाप्रति पार्टीले क्षमायाचना गरेको छ।केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचनामा प्रतिनिधि परिचयपत्र वितरण कार्य व्यवस्थित रूपमा सम्पन्न गर्न अतिरिक्त समय आवश्यक परेकाले कार्यक्रम सारिएको उल्लेख गरिएको छ।

