एमबाप्पेको दुई गोलमा फ्रान्स अन्तिम ३२ मा



एजेन्सी,असार ९ । फ्रान्सका कप्तान किलियन एमबाप्पेले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल सम्झनलायक बनाउँदै दुई गोल गरेपछि फ्रान्स फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेको छ।

रियल म्याड्रिडका स्टार एमबाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्‍याएका छन्। यससँगै उनी सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको नजिक पुगेका छन्।

विश्वकपमा उनको कुल गोल संख्या १६ पुगेको छ, जसले उनलाई जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमानसँग बराबरीमा पुर्‍याएको छ। फिलाडेल्फियामा चट्याङ र वर्षाका कारण केही समय प्रभावित बनेको खेलमा फ्रान्सले सुरुदेखि नै दबाब बनाएको थियो। खेलको १४औँ मिनेटमा माइकल ओलिसेको पासमा एमबाप्पेले शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

एमबाप्पेको दोस्रो गोल भने इराकी रक्षापङ्क्तिको गल्तीको परिणाम बन्यो। रक्षक जाइद तहसिन र गोलरक्षक अहमद बासिलबीचको समन्वय अभावको फाइदा उठाउँदै ओस्मान डेम्बेलेले बल एमबाप्पेलाई उपलब्ध गराए र कप्तानले सहज रूपमा गोल गरे।

डेम्बेलेले पनि खेलको १२ मिनेटपछि आफ्नो पहिलो विश्वकप गोल गर्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए। ओलिसेको उत्कृष्ट पासमा उनले सशक्त प्रहार गर्दै गोल चुमाएका थिए।

सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स अब नकआउट चरणमा पुगिसकेको छ। समूह चरणको अन्तिम खेलमा नर्वेसँग प्रतिस्पर्धा गर्ने फ्रान्सका लागि एमबाप्पे र मेस्सीबीचको गोलको प्रतिस्पर्धा पनि थप रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस्