कमजोर मनसुनका कारण वर्षा न्यून, पश्चिमी क्षेत्रमा तापलहर उग्र



काठमाडौँ, असार ९ । यस वर्ष नेपालमा प्रवेश गरेको मनसुनी प्रणाली कमजोर रहेकाले देशभर अपेक्षित वर्षा हुन सकेको छैन। कोशी प्रदेशबाट फैलिन सुरु भएको मनसुन सोमबार गण्डकी प्रदेशसम्म पुगे पनि अधिकांश स्थानमा उल्लेखनीय वर्षा नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गत शुक्रबार पूर्वी भूभाग हुँदै नेपाल भित्रिएको मनसुन औसत समयभन्दा छ दिन ढिला आएको थियो। विभागले सोमबार जारी गरेको दोस्रो मनसुन विशेष बुलेटिनमा मनसुन अझै कमजोर अवस्थामै रहेकाले देशव्यापी रूपमा फैलिन केही दिन लाग्ने उल्लेख गरेको छ। मौसमविद् डेविड ढकालका अनुसार मनसुन कोशी प्रदेशबाट पश्चिमतर्फ सर्दै मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा फैलिएको छ। कोशी, मधेश र बागमती प्रदेशमा मनसुनी जलवाष्प पुगे पनि पश्चिमका अन्य भूभागमा फैलिन अझै समय लाग्ने बताइएको छ।

मनसुन विस्तारमा ढिलाइ हुँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा तापलहरको प्रभाव बढ्दै गएको छ। मनसुन पुगेका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र बदलीका कारण केही शीतलता महसुस भए पनि पश्चिमी भूभागमा अत्यधिक गर्मी कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बाँकेको खजुरामा अधिकतम तापक्रम ४१.५ डिग्री सेल्सियस मापन गरिएको छ। नेपालगञ्ज सबैभन्दा तातो स्थानका रूपमा रेकर्ड हुँदा लुम्बिनी प्रदेशका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यता मनाङको हुम्देमा न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस मापन गरिएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै स्याङ्जामा ११८.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

यता, वैशाख महिनादेखि हालसम्म विभिन्न प्रकारका विपद्का घटनामा परी १०५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी २१ जनाको लेक लागेर मृत्यु भएको छ भने आगलागीबाट १६, सर्पदंश र चट्याङबाट १४–१४, हावाहुरीबाट १३ तथा जनावरको आक्रमणबाट १० जनाको ज्यान गएको छ।

त्यस्तै बाढीबाट छ, पहिरोबाट चार, भीषण वर्षाबाट तीन, डुङ्गा पल्टिँदा दुई, वन डढेलोबाट एक र हिउँपहिरोमा परी एक जनाको मृत्यु भएको छ। विभिन्न विपद्का घटनामा ६३५ जना घाइते भएका छन् भने तीन हजार १६५ घरपरिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार वैशाखयता देशभर दुई हजार २९२ वटा विपद्का घटना दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्