सामाजिक लोकतन्त्रको बाटोमा रास्वपा, प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत



काठमाडौँ, असार १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट सामाजिक लोकतन्त्रलाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा गरेको छ। सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा रास्वपा लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, सामाजिक न्याय र सुशासनको आधारमा अघि बढ्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा वर्तमान संसदीय व्यवस्थाको विकल्पका रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली को पक्षमा पार्टी उभिएको बताइएको छ। साथै राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने तथा प्रदेश संरचनाको पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।

रास्वपाले उदार अर्थतन्त्रसँगै लोककल्याणकारी राज्यको अवधारणालाई अघि सारेको छ। शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षामा राज्यको सक्रिय भूमिका हुनुपर्ने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा प्रतिवेदनमा छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन, युवाको सहभागिता, विकास–केन्द्रित परराष्ट्र नीति र संगठनभित्र गुटबन्दी अन्त्यलाई पनि प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ।

महाधिवेशनको बन्दसत्रले सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनसहित विभिन्न सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ। रास्वपाले आफूलाई परम्परागत दलको विकल्प मात्र नभई देशको अग्रणी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसमेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्