फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलमा ऐतिहासिक संकट
काठमाडौं,असार ११ । अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा परेको छ। फिफाले तत्काल लागू हुने गरी एन्फामाथि निलम्बनको निर्णय गरेको हो। फिफाले जारी गरेको विज्ञप्तिअनुसार फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ विपरीत तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै एन्फालाई निलम्बन गरिएको हो।
एन्फाको कार्यसमितिको कार्यकाल असार ६ गते सकिएपछि नयाँ निर्वाचनको विषयलाई लिएर एन्फा र सरकारबीच लामो समयदेखि विवाद चल्दै आएको थियो। फिफाले केही दिनअघि अर्को निर्वाचन सम्पन्न नभएसम्म पुरानै कार्यसमितिलाई काम गर्न निर्देशन दिएको थियो। तर निर्वाचन प्रक्रिया र तहगत निर्वाचनसम्बन्धी विवादका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। उक्त निलम्बन पछि जेठ १ गते फुकुवा गरिएको थियो।
विवादका क्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित २४ जनालाई राखेपको सिफारिसमा विदेश भ्रमणमा रोक लगाइएको थियो। विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो।
फिफाको निलम्बनसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैन। साथै, फिफाबाट मान्यता प्राप्त नेपाली रेफ्रीहरूले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न नपाउने भएका छन्। यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थितिमै गम्भीर असर पार्ने भएको छ।
सन् १९५१ मा स्थापना भएको एन्फा सन् १९७२ मा फिफाको सदस्य बनेको थियो। पाँच दशकभन्दा लामो इतिहासमा एन्फा पहिलो पटक फिफाको निलम्बनमा परेको हो, जसलाई नेपाली फुटबल इतिहासकै एक कालो दिनका रूपमा हेरिएको छ।

