स्विट्जरल्यान्ड समूह विजेता, क्यानडाले पनि रच्यो इतिहास



एजेन्सी,असार ११ । स्विट्जरल्यान्ड समूह विजेता बन्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। सह–आयोजक क्यानडालाई २–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले समूह ‘बी’ को शीर्ष स्थान सुरक्षित गरेको हो।

भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेलमा स्विट्जरल्यान्डका लागि दोस्रो हाफको सुरुआती चरणमै रुबिन भार्गास र जोहान मान्जाम्बीले गोल गरे। क्यानडाका वैकल्पिक खेलाडी प्रोमिस डेभिडले ७६औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो जितसँगै स्विट्जरल्यान्ड समूह विजेताका रूपमा अन्तिम ३२ मा पुगेको छ। अर्जेन्टिना र फ्रान्सपछि लगातार चार विश्वकपमा नकआउट चरणमा पुग्ने तेस्रो राष्ट्र बन्ने उपलब्धि पनि उसले हासिल गरेको छ। यता, हार बेहोरे पनि क्यानडा समूह उपविजेताका रूपमा पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको छ। तर समूह विजेता बन्न नसकेपछि उसले अब बाँकी खेल घरेलु मैदानबाहिर खेल्नुपर्नेछ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै अग्रता लियो। मान्जाम्बीको पासमा भार्गासले गोल गर्दै टोलीलाई अघि बढाए। ५७औँ मिनेटमा ब्रिल एम्बोलोबाट प्राप्त अवसरलाई सदुपयोग गर्दै मान्जाम्बीले दोस्रो गोल थपे।

७६औँ मिनेटमा मैदान प्रवेश गरेको केही समयमै प्रोमिस डेभिडले गोल गर्दै क्यानडालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि थप गोल हुन सकेन।

एक गोल र एक असिस्ट गरेका मान्जाम्बी खेलको उत्कृष्ट खेलाडी घोषित भए। भार्गास र मान्जाम्बी सन् १९५४ यता लगातार दुई विश्वकप खेलमा गोल गर्ने पहिलो स्विस खेलाडी जोडी बनेका छन्।

समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा बोस्निया–हर्जगोभिनाले कतारलाई ३–१ ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने कतार प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्