भेनेजुएलामा शक्तिशाली भूकम्प: ३२ जनाको मृत्यु, ७०० बढी घाइते



एजेन्सी,असार ११ । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभएको छ।

देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि आपत्कालीन टोलीहरू परिचालन गरिएको छ।

रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। उहाँले उक्त क्षेत्र गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै धेरै भवनहरू ध्वस्त भएको र भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य तीव्र पारिएको जानकारी दिनुभयो।

उहाँले ला गुआइरालाई विपद् प्रभावित क्षेत्र घोषणा गरिएको जनाउँदै नागरिकको ज्यान बचाउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। कठिन परिस्थितिका बीच उद्धारकर्मीहरू निरन्तर खोज तथा उद्धार अभियानमा खटिएको उहाँको भनाइ छ।

सरकारले प्रभावित क्षेत्रमा राहत, उपचार तथा आपत्कालीन सेवाहरूलाई तीव्रता दिएको छ। साथै भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्