होर्मुज जलमार्गमा फसेका अधिकांश जहाज केही साताभित्र खाली गरिने : आईएमओ
लन्डन, असार ११ । अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले होर्मुज जलमार्ग र आसपासका क्षेत्रमा फसेका अधिकांश जहाज आगामी केही साताभित्र खाली गरिने अपेक्षा गरेको जनाएको छ। आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले नयाँ निकासी ढाँचाअन्तर्गत प्रभावित चालक दलका सदस्यहरूको सुरक्षित उद्धार तथा स्थानान्तरण कार्य तीव्र रूपमा अघि बढाइएको बताउनुभएको छ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको सामुद्रिक एजेन्सी आईएमओले मङ्गलबार होर्मुज जलमार्ग आसपास फसेका चालक दलका सदस्यहरूका लागि विशेष निकासी योजना सार्वजनिक गरेको थियो। क्षेत्रीय मुलुकहरू तथा समुद्री उद्योगसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त योजनाले सङ्कटबाट प्रभावित करिब ६०० जहाजमा सवार ११ हजारभन्दा बढी चालक दलका सदस्यको सुरक्षित प्रस्थान सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
महासचिव डोमिंगेजका अनुसार निकासी कार्य दैनिक रूपमा सञ्चालन भइरहेको छ र आगामी केही हप्ताभित्र अधिकांश जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्न सकिने विश्वास गरिएको छ। पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिन्छ, जहाँबाट विश्व ऊर्जा आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने गर्दछ।
हालैको क्षेत्रीय तनावका कारण २० हजारभन्दा बढी चालक दलका सदस्य होर्मुज आसपासका समुद्री क्षेत्रमा प्रभावित भएका छन्। व्यापारिक जहाजमाथिका आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको जनाइएको छ। डोमिंगेजले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निकासी प्रक्रिया सावधानीपूर्वक र चरणबद्ध रूपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो।
आईएमओका अनुसार जहाजहरूलाई तिनीहरूको अवस्था, फसेको अवधि र स्थानका आधारमा समूह विभाजन गरी निर्धारित होल्डिङ क्षेत्रमा राखिएको छ। त्यसपछि मात्र जलमार्ग पार गर्ने अनुमति प्रदान गरिने व्यवस्था गरिएको छ। ओमान र आईएमओले संयुक्त रूपमा जारी गरेको नयाँ समुद्री मार्गसम्बन्धी सूचना यसै साता लागू गरिएको हो।
डोमिंगेजले आईएमओले इरान, ओमान, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सलगायत सम्बन्धित देशहरूसँग व्यापक परामर्श गरी सुरक्षित समुद्री कोरिडोर स्थापना गर्न आवश्यक सुरक्षा प्रत्याभूति प्राप्त गरेको जानकारी दिनुभयो। उहाँले अमेरिका–इरानबीच जारी कूटनीतिक संवादले तनाव कम गर्न र विश्वको महत्वपूर्ण जलमार्गमा पुनः पारवहन सञ्चालन गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो।
महासचिव डोमिंगेजले भूराजनीतिक द्वन्द्वका कारण निर्दोष चालक दलका सदस्यहरू सबैभन्दा बढी प्रभावित हुने गरेको भन्दै उनीहरूको सुरक्षा र संरक्षणलाई अन्तर्राष्ट्रिय समुदायले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले ढुवानी क्षेत्रलाई कुनै पनि भूराजनीतिक द्वन्द्वमा बन्धक बनाइनु नहुने र चालक दलको सुरक्षा विश्वव्यापी सरोकारको विषय बनेको उल्लेख गर्नुभयो।

