कक्षा १२ को नतिजा विवादः छानबिन समिति गठन, उत्तरपुस्तिका र डेटा पुनः परीक्षण हुने
काठमाडौं,असार ११ । कक्षा १२ को नतिजामा देखिएको त्रुटि सम्बन्धी गुनासो बढेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले शिक्षा मन्त्रालयका उपसचिव तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरेको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन्। नतिजाप्रति व्यापक प्रश्न उठेपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले छानबिनका लागि समिति गठन गरिएको जानकारी दिनुभएको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको स्पष्ट पार्नुभएको छ। उहाँले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको पुनः भेरिफिकेसन गरी तथ्यगत अवस्था सार्वजनिक गरिने बताउनुभयो।
आन्दोलनरत विद्यार्थीप्रति लक्षित गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभएको छ। साथै, सामाजिक सञ्जालमा आन्दोलनरत विद्यार्थीमाथि भइरहेका नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले दुर्व्यवहार, गालीगलौज वा अपमानजनक अभिव्यक्ति नदिन सबैलाई आग्रह गर्नुभएको छ।

