सरकारको आश्वासनपछि चिया उद्योग पुनः सञ्चालन, बन्दका कार्यक्रम स्थगित



काठमाडौं, असार ११ – नेपाल चिया उत्पादक संघले झापा र इलामका बन्द रहेका चिया उद्योग पुनः सञ्चालन गर्ने तथा घोषित बन्दका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका उद्योगहरू बिहीबारदेखि नै सञ्चालनमा ल्याइने संघले जनाएको छ। संघद्वारा जारी विज्ञप्तिअनुसार सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि पहल थालेपछि उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।

संघले चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान, किसानका समस्या पहिचान तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारले विशेष कार्यदल गठन गरेको विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ। सरकारको उक्त पहललाई सम्मान गर्दै चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (एसओपी) का कारण नेपाली चिया भारत निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए।
यसैबीच, सरकारले असार ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सहसचिवको संयोजकत्वमा चिया निर्यातसम्बन्धी समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन कार्यदल गठन गरेको थियो।

नेपाल चिया उत्पादक संघले कार्यदल गठन र सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान तथा मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्