नुवाकोटका विभिन्न क्षेत्रमा एक घण्टा विद्युत सेवा अवरुद्ध हुने
विदुर, असार ११ गते । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले त्रिशुली जलविद्युत केन्द्रको स्विचयार्डमा मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले बिहीबार विभिन्न क्षेत्रमा विद्युत सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार आज असार ११ गते बिहीबार दिउँसो ४ बजेदेखि ५ बजेसम्म त्रिशुली सबस्टेशनबाट सञ्चालित विभिन्न फिडर अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ।
फिडर नम्बर १ अन्तर्गत नुवाकोट, ढिकुरे, फेदीबेँसी, चोगते, फलाटे, महभीर, कुलापानी, बोहरे र कटुन्जे क्षेत्रमा सेवा बन्द रहनेछ। त्यसैगरी फिडर नम्बर २ अन्तर्गत विदुर नगरपालिका–७, तुप्चे, किस्पाङ गाउँपालिका–२ फिकुरी तथा वडा नम्बर ५ मनकामना प्रभावित हुनेछन्।
फिडर नम्बर ४ अन्तर्गत केराघारी, बेत्रावती, पैरीबेँसी, शान्तिबजार तथा उत्तरगया गाउँपालिकाका केही क्षेत्र, फिडर नम्बर ५ अन्तर्गत त्रिशुली बजार, सिमटार, कोलोनी, बाघटार, हात्तिगैडा, भैरमकोट, गोर्खटार, खुर्सानेलगायत स्थानमा विद्युत सेवा अवरुद्ध हुनेछ।
यस्तै फिडर नम्बर ८ अन्तर्गत माझीगाउँ, गौरिबेँसी, चारघरे, कल्याणपुर, डेउडी, खनियावास गाउँपालिकाको सम्पूर्ण क्षेत्र, धादिङको धुवाकोट तथा म्यागङ गाउँपालिकाका विभिन्न वडाहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ। फिडर नम्बर ६ अन्तर्गत विदुर, बट्टार, हावाघर, गगटे, पिपलटारलगायत क्षेत्र तथा फिडर नम्बर ७ अन्तर्गत कोलोनी क्वार्टर, सिल ट्यांकी र हेडगेटसम्मका क्षेत्रमा पनि विद्युत सेवा बन्द रहनेछ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले मर्मतसम्भार कार्यका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत आपूर्ति तत्काल सुचारु गरिने जनाएको छ।

