डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, नर्वेमाथि ४–१ को प्रभावशाली जित
एजेन्सी,असार १३ । उस्मान डेम्बेलेको पहिलो हाफमै गरेको ह्याट्रिकको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
खेलअघि नै दुवै टोलीले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका थिए। यस खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने भएकाले विशेष चासोको विषय बनेको थियो। यद्यपि नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनेले एर्लिङ हालान्डसहित १० खेलाडीलाई विश्राम दिएपछि बहुप्रतीक्षित हालान्ड–किलियन एमबाप्पे भिडन्त भने हुन सकेन।
फ्रान्सले सातौं मिनेटमै अग्रता लियो। एमबाप्पेको पासमा डेम्बेलेले उत्कृष्ट फिनिस गर्दै गोलको खाता खोले। उनले २०औं मिनेटमा तीव्र प्रतिआक्रमणलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल थपे। नर्वेले २१औं मिनेटमा एन्ड्रियास स्केल्डेरुपको पासमा थेलो आसगार्डमार्फत गोल फर्काउँदै अन्तर २–१ मा झारे पनि फ्रान्सको दबाब रोक्न सकेन। डेम्बेलेले ३२औं मिनेटमा अर्को गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरे।
डेम्बेलेको यो ह्याट्रिक विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक बनेको छ। यसअघि सन् १९५४ मा अस्ट्रियाका एरिक प्रोब्स्टले २४ मिनेटमै ह्याट्रिक गरेका थिए। साथै, विश्वकपमा पहिलो हाफमै ह्याट्रिक गर्ने उनी सन् १९९४ मा रुसका ओलेग सालेन्कोपछि पहिलो खेलाडी बने।
दोस्रो हाफमा नर्वेसँग खेलमा फर्किने अवसर आए पनि योर्गेन स्ट्रान्ड लार्सेनले पेनाल्टी सदुपयोग गर्न सकेनन्। त्यसपछि इन्जुरी समयमा डिजिरे डुवेले हेडमार्फत गोल थप्दै फ्रान्सलाई ४–१ को सहज जित दिलाए।
यस नतिजासँगै फ्रान्स समूह ‘आई’ को विजेता र नर्वे उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन्। समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हराउँदै उत्कृष्ट तेस्रो टोलीका रूपमा अघिल्लो चरण पुग्ने सम्भावना जीवित राखेको छ। त्यसका लागि भने अन्य समूहका नतिजा पर्खिनुपर्नेछ।
अब फ्रान्सले जुन ३० मा न्यु जर्सीमा समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ भने सोही दिन नर्वेले डलासमा आइभरी कोस्टको सामना गर्नेछ।

