भेनेजुएला भूकम्पबाट ९२० जनाको मृत्यु, ५० हजारभन्दा बढी बेपत्ता
एजेन्सी,असार १४ । भेनेजुएलामा बुधबार एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ५० हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा बाँचेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले विशेषगरी देशको उत्तरी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएका छन्। राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ चारवटा अग्ला भवनसहित सयौँ अपार्टमेन्ट ध्वस्त भएका छन्।
उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले अधिकांश भवन पूर्ण रूपमा भत्किएकाले जीवित व्यक्तिहरू भेटिने सम्भावना अत्यन्त न्यून रहेको बताउनुभयो। उहाँका अनुसार अहिले उद्धार टोलीको मुख्य ध्यान भग्नावशेषबाट शव निकाल्ने कार्यमा केन्द्रित छ।
यता, प्रभावित क्षेत्रका स्थानीयवासीले सरकारको उद्धार तथा राहत कार्य पर्याप्त नभएको भन्दै असन्तुष्टि जनाएका छन्। अन्तरिम नेतृ डेल्सी रोड्रिगेजविरुद्ध नाराबाजी गर्दै उनीहरूले आवश्यक मेसिनरी र सरकारी सहयोग नपुगेको गुनासो गरेका छन्।
आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले शुक्रबार राति ८ बजेदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सर्वसाधारणको प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ।
भूकम्पबाट आफन्त गुमाएका परिवारजन र स्वयंसेवकहरू आफ्नै प्रयासमा भग्नावशेष हटाएर बाँचेकाहरूको खोजी गरिरहेका छन्। पाँच महिनाका छोरा गाएललाई खोजिरहेकी मार्जोस्ली सालाजारले आफ्नी १६ वर्षीया छोरीको शव फेला परेको तर छोरा र भतिजी अझै बेपत्ता रहेको बताउँदै तत्काल भारी मेसिनरीसहितको उद्धार सहयोग आवश्यक रहेको बताउनुभयो।

