इन्जुरी समयमा इस्टाकियोको गोल, क्यानडा अन्तिम १६ बाट क्वार्टरफाइनल दौडमा
काठमाडौं,असार १५। स्टेफन इस्टाकियोले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको निर्णायक गोलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशको यात्रा तय गरेको छ।
लस एन्जलस स्टेडियममा आइतबार राति भएको अन्तिम १६ को प्रतिस्पर्धामा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन्। खेल इन्जुरी समयमा पुगेपछि इस्टाकियोले पेनाल्टी क्षेत्रको किनारबाट गरेको उत्कृष्ट प्रहार नै क्यानडाको जितको आधार बन्यो।
पहिलो हाफमा दक्षिण अफ्रिकाले केही राम्रो अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रह्यो। खेलको अन्त्यतिर क्यानडाले पनि दुई अवसर गुमाएको थियो। दोस्रो हाफमा क्यानडाले खेलमा नियन्त्रण बढाउँदै लगातार दबाब सिर्जना गरेको थियो।
७५औँ मिनेटमा अल्फोन्सो डेभिस मैदान प्रवेश गरेपछि क्यानडाको आक्रमण थप प्रभावकारी बनेको थियो। अन्ततः इस्टाकियोको निर्णायक गोलसँगै क्यानडाले ऐतिहासिक जित निकाल्यो। उत्कृष्ट प्रदर्शन गरेका इस्टाकियो ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
अब क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको नकआउट चरणसम्म पुगेर इतिहास रचे पनि त्यसलाई थप अघि बढाउन सकेन।
यसैबीच, ७४ वर्ष ७९ दिनका दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुस विश्वकपको नकआउट चरणमा टोलीको नेतृत्व गर्ने सबैभन्दा पाका प्रशिक्षक बने। उनले सन् २०१८ मा उरुग्वेका ओस्कार ताबारेजले बनाएको कीर्तिमान तोडे।

