सिन्धुपाल्चोक चौतारामा फूलपाती भित्र्याइयो, राणाकालीन इतिहाससँग जोडिएको परम्परा
सिन्धुपाल्चोक,असोज ३१ । बडादसैँको सप्तमीका अवसरमा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा शनिबार धार्मिक विधि, परम्परा र सांस्कृतिक उत्साहका साथ फूलपाती भित्र्याइएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी कर्मचारी, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको सहभागितामा फूलपाती भित्र्याइएको हो।
जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको भगवती मन्दिरबाट बाजागाजासहित सुरु भएको फूलपाती यात्रा चौतारा बजार हुँदै सातकन्या मन्दिर पुगेको थियो। त्यहाँ विधिपूर्वक पूजाआजा गरेपछि हर्षबढाइँका साथ फूलपातीलाई प्रहरीको दसैँघरमा भित्र्याइएको थियो। फूलपाती भित्र्याइएसँगै चौतारामा दसैँको रौनक थपिएको छ।
चौतारामा फूलपाती भित्र्याउने परम्परा स्थानीय धार्मिक आस्था, ऐतिहासिक प्रशासनिक व्यवस्था र सैनिक संरचनासँग जोडिएको छ। यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन अभिलेख नभए पनि राणाकालीन समयदेखि प्रचलनमा रहेको हुन सक्ने स्थानीय ७७ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुमान छ।
राणाकालमा जिल्लाका सदरमुकामको सुरक्षाका लागि सैनिक टुकडी राख्ने चलन थियो। चौताराको सुरक्षाको जिम्मेवारी शिवदल गुल्मको सैनिक टुकडीले सम्हाल्ने गरेको श्रेष्ठ बताउँछन्। त्यतिबेला सैनिक टुकडीलाई ‘मिलिसिया’ भनिन्थ्यो।
ऐतिहासिक विवरणअनुसार वि.सं. १९३६ मा चौतारामा जङ्गी परेडघर निर्माण गरिएको थियो। पछि वि.सं. १९६५ मा उक्त भवन गोश्वाराका रूपमा प्रयोग हुन थाल्यो। त्यहीँबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको प्रशासनिक कामसमेत सञ्चालन हुने गरेको थियो। गोश्वाराको प्रमुखलाई ‘बडाहाकिम’ भनिन्थ्यो, जसको जिम्मेवारी अहिलेका प्रमुख जिल्ला अधिकारीसँग मिल्दोजुल्दो थियो।
चौताराको फूलपाती परम्परा गोश्वाराको प्रशासनिक अभ्यास र दसैँमा गरिने मौलो पूजासँग पनि सम्बन्धित रहेको श्रेष्ठ बताउँछन्। उनका अनुसार त्यतिबेला कतिपय विवादमा वादी र प्रतिवादीलाई तामाको भाँडा वा मौलो समातेर सत्य बोल्न कसम खुवाउने चलन थियो। उक्त परम्परासँग जोडिएको मौलो अहिले पनि प्रमुख जिल्ला अधिकारीको क्वार्टर परिसरमा रहेको छ।
दसैँका अवसरमा गोश्वाराबाट बेलपत्र, जमरा, उखुलगायतका सामग्री डोलीमा राखेर बाजागाजासहित सातकन्या मन्दिरमा लैजाने गरिन्थ्यो। त्यहाँ पूजाआजा गरेपछि हर्षबढाइँसहित फूलपाती दसैँघरमा भित्र्याउने परम्परा थियो। सातकन्या मन्दिरमा फूलपाती लगेर पूजाआजा गर्ने प्रचलनका कारण उक्त स्थान ‘फूलपाती पर्साउने’ नामले समेत परिचित छ।
लामो समयदेखि चल्दै आएको यो परम्परा वि.सं. २०१९ मा शिवदल गुल्म रामेछाप स्थानान्तरण भएपछि रोकिएको थियो। पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण भुर्तेल र प्रहरी नायब उपरीक्षक सुरतबहादुर शाहको पहलमा वि.सं. २०५३ देखि फूलपाती भित्र्याउने परम्परालाई पुनः निरन्तरता दिइएको थियो।
त्यसयता प्रत्येक वर्ष बडादसैँको सप्तमीका दिन सातकन्या मन्दिरमा पूजाआजा गरी हर्षबढाइँसहित फूलपाती भित्र्याउने चलन कायम छ। धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक पहिचानसँग जोडिएको यो परम्पराले चौताराको मौलिक इतिहासलाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे परिचित गराउँदै आएको छ।

