अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
जाजरकोट,असोज ३१। जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–८ मालुमा शनिबार बिहान अटो दुर्घटना भएको हो।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो बिहान करिब ११ः१५ बजे अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकलाई उपचारका लागि नगर अस्पताल दल्ली लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दुवैलाई दिउँसो १२ः२० बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।
दुर्घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल दल्ली पठाएको थियो।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

