भारतमाथि आयरल्यान्डको ऐतिहासिक विजय, पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज कब्जा
भारत,असार १५ । विश्व च्याम्पियन भारतलाई लगातार दोस्रो खेलमा पराजित गर्दै आयरल्यान्डले दुई खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिज २–० ले आफ्नो नाममा पारेको छ। भारतविरुद्ध आयरल्यान्डको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज जित हो।
बेलफास्टमा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले भारतलाई १ रनले रोमाञ्चक रूपमा हरायो। पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। कप्तान ह्यारी टेक्टरले ५३ तथा बेन्जामिन कालिट्जले ३७ रनको योगदान दिए। भारतका डेब्युटेन्ट प्रिन्स यादवले ३ तथा शिवम दुबेले २ विकेट लिए।
१५५ रनको लक्ष्य पछ्याएको भारतले खराब सुरुआत गर्यो। सञ्जु स्यामसन र अभिषेक शर्मा पहिलो बलमै आउट हुँदा कप्तान श्रेयस अय्यर पनि चाँडै पेभिलियन फर्किए। त्यसपछि तिलक वर्माले ५५ रन बनाएर टोलीलाई जिततर्फ डोर्याउने प्रयास गरे पनि अन्तिम समयमा भारतले खेल आफ्नो पक्षमा पार्न सकेन।
अन्तिम ओभरमा २१ रन आवश्यक रहेको अवस्थामा हर्षित राणाले आक्रामक ब्याटिङ गरे पनि अन्तिम दुई बलमा ८ रन चाहिएको अवस्थामा उनी आउट भए। अन्तिम बलमा प्रिन्स यादवले छक्का प्रहार गरे पनि भारत १ रनले पराजित भयो।
आयरल्यान्डका जय मुन्द्रा र म्याथ्यु होलार्डले समान ३–३ विकेट लिए। यससँगै आयरल्यान्डले भारतविरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज जित्दै इतिहास रचेको छ। साथै टि–२० क्रिकेटमा भारतको लगातार १६ सिरिज वा प्रतियोगितासम्मको अपराजित यात्रा पनि समाप्त भएको छ।

