कक्षा–१२ पुनर्योगका लागि ३० हजारभन्दा बढी आवेदन, गत वर्षभन्दा कम
काठमाडौं, असार १५ — माध्यमिक शिक्षा परीक्षा (कक्षा–१२) को नतिजामा चित्त नबुझेपछि पुनर्योगका लागि ३० हजारभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार असार १२ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत आवेदन लिने व्यवस्था गरिएको थियो। पुनर्योगका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्क तोकिएको थियो।
बोर्डले यस वर्ष पुनर्योगका लागि परेको आवेदन संख्या गत वर्षको तुलनामा कम रहेको जनाएको छ। २०८२ सालमा करिब ३९ हजार र २०८१ सालमा करिब ४० हजार विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए।
यस वर्षको कक्षा–१२ को नतिजाअनुसार ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार २२९ गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
नतिजाअनुसार १७ हजार ७८६ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए, ६४ हजार ८२१ जनाले ३.२१ देखि ३.६०, ९४ हजार २४९ जनाले २.८१ देखि ३.२०, ५० हजार ५९७ जनाले २.४१ देखि २.८०, ४ हजार ३०८ जनाले २.०१ देखि २.४० तथा ९ जनाले १.६१ देखि २.०० जीपीए प्राप्त गरेका छन्। एक लाख ४ हजार ७१ विद्यार्थी नन–ग्रेडेड भएका छन्।
नन–ग्रेडेड विद्यार्थीका लागि साउन २ र ३ गते पूरक (मौका) परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। नतिजामा नाम, रजिस्ट्रेसन नम्बर, विषय, अनुपस्थित वा स्थगितलगायत कुनै त्रुटि देखिएमा नतिजा प्रकाशित भएको मितिले ६ महिनाभित्र आवश्यक कागजातसहित सम्बन्धित कार्यालय वा राष्ट्रिय परीक्षा बोर्डमा निवेदन दिन सकिने व्यवस्था छ।
नतिजाप्रति विद्यार्थीको असन्तुष्टि
यस वर्ष सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। बोर्डले ४० दिनमै नतिजा प्रकाशित गरे पनि मूल्यांकनमा त्रुटि भएको आरोप लगाउँदै केही विद्यार्थीले विरोध जनाएका छन्।
गत बिहीबार विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै आफूहरूले राम्रो परीक्षा दिए पनि अपेक्षाभन्दा कम अंक दिइएको दाबी गरेका थिए।
यता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने नतिजा प्रकाशनमा कुनै हतार नगरिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत उनले आवश्यक जनशक्ति थप गरी र प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको उल्लेख गर्दै मूल्यांकन प्रक्रिया विश्वसनीय रहेको बताएका छन्।

