दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन



काठमाडौँ, असार १५ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

निर्देशनालयले सोमबार सूचना जारी गर्दै त्रिविअन्तर्गतका सबै विभागका प्रमुखलाई दलीय विद्यार्थी संगठनका संरचना हटाई सोको जानकारी यथाशीघ्र निर्देशनालयमा पठाउन आग्रह गरेको हो।

सरकारले यसअघि नै विश्वविद्यालय तथा विद्यालयमा दलीय विद्यार्थी संगठनका संरचना हटाई विद्यार्थीको प्रतिनिधित्वका लागि वैकल्पिक संयन्त्र विकास गर्ने नीति अघि सारेको छ।

निर्देशनालयका अनुसार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको पत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्दै विद्यार्थीको वास्तविक आवाज समेट्ने वातावरण निर्माण गर्न ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनिएको छ।

त्यस्तै, ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक विद्यार्थी प्रतिनिधित्व संयन्त्र विकास गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। सोही निर्देशन कार्यान्वयन गर्दै त्रिविले सबै सम्बन्धित निकायलाई संरचना हटाई प्रगति विवरण निर्देशनालयमा पठाउन अनुरोध गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्