इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा



ह्युस्टन, असार १६ — गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको अन्तिम क्षणमा गरेको निर्णायक गोलको मद्दतमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

ह्युस्टनमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो। अब ब्राजिलले जुलाई ५ मा न्युयोर्क–न्यु जर्सी स्टेडियममा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

खेलअघि ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्ना खेलाडीलाई ‘दिमाग, मुटु र स्पष्ट सोच’का साथ खेल्न आग्रह गरेका थिए। जापानविरुद्ध पुनरागमन जित निकाल्न ब्राजिलले त्यही संयम र धैर्य प्रदर्शन गर्‍यो।

खेलको २९औँ मिनेटमा जापानले अग्रता लिएको थियो। ब्राजिलको कमजोर पासलाई बीचमै नियन्त्रणमा लिएका काइशु सानोले डिफेन्सको कमजोरीको फाइदा उठाउँदै दायाँ खुट्टाले उत्कृष्ट प्रहारमार्फत आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गरे।

दोस्रो हाफमा ब्राजिलले लगातार दबाब सिर्जना गर्‍यो। ५६औँ मिनेटमा गाब्रिएल मागाल्हाएसको सटिक क्रसमा कासेमिरोले शक्तिशाली हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने सुनौलो अवसर पाए पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गरे। अर्को प्रहार पोस्टमा लागेपछि ब्राजिल केही समय निराश बनेको थियो।

तर ब्राजिलको आक्रमण अन्तिमसम्म जारी रह्यो। इन्जुरी समयको पाँचौँ मिनेटमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले सुजुकीलाई बिट गर्दै विजयी गोल गरे। त्यससँगै ह्युस्टन रंगशालामा उपस्थित ब्राजिली समर्थक उत्सवमा डुबे।

यो जितसँगै कीर्तिमानी छैटौँ विश्वकप उपाधि जित्ने ब्राजिलको अभियान कायम रहेको छ। जापान भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्य पूरा गर्न असफल रह्यो। मार्टिनेलीको यो ब्राजिलका लागि पाँचौँ अन्तर्राष्ट्रिय गोल हो। उनका पाँच गोलमध्ये तीन गोल अमेरिकाको भूमिमै भएका छन्।

प्रतिक्रिया दिनुहोस्