नुवाकोटको विभिन्न विद्यालयमा साइबर सुरक्षा र ट्राफिक सचेतना कार्यक्रम, विद्यार्थीमा जिम्मेवार बन्ने सन्देश
नुवाकोट, असार १६ — प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग र सडक दुर्घटनाका घटना बढिरहेका बेला नुवाकोटका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै डिजिटल सुरक्षा तथा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत दुप्चेश्वर माध्यमिक विद्यालय, रुक्मणी माध्यमिक विद्यालय, नवसञ्जीवनी माध्यमिक विद्यालय, इन्द्रायणी माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको हो।
कार्यक्रममा डिजिटल सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग, साइबर अपराधबाट बच्ने उपाय, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना सम्बन्धी विषयमा जानकारी दिइएको थियो।
ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक लोकराज पाठक, ट्राफिक प्रहरी कार्यालय विदुरका प्रहरी निरीक्षक बिनोद ढकाल र सहायक प्रहरी निरीक्षक राजेश केसी ले सहजीकरण गर्दै विद्यार्थीलाई प्रविधिको सही प्रयोग, साइबर जोखिमबाट जोगिने उपाय तथा सडकमा सुरक्षित व्यवहार अपनाउने विषयमा व्यवहारिक जानकारी दिएका थिए।
आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा जिम्मेवार डिजिटल नागरिक बन्ने बानीको विकास गर्नुका साथै साइबर अपराध र सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

