युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो
काठमाडौँ,असार १६। मध्यपूर्वमा युद्धविराम भएपछि अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको छ।
श्रीलङ्का पेट्रोलियम कर्पोरेसनका अनुसार डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँ घटाएर ३८२ रुपैयाँ तथा पेट्रोलको मूल्य २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरिएको छ।अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि वार्ता गर्ने सहमति बनेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य घटेको प्रभाव श्रीलङ्कामा पनि परेको जनाइएको छ।
यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो। उच्च आयात लागतका कारण विद्युत् महसुल पनि करिब एक तिहाइले वृद्धि गरिएको थियो।
आवश्यक सबै पेट्रोलियम पदार्थ र विद्युत् उत्पादनका लागि कोइला आयातमा निर्भर रहेको श्रीलङ्काले मध्यपूर्वको द्वन्द्व लम्बिए कमजोर अर्थतन्त्रमा थप दबाब पर्ने चेतावनी यसअघि दिएको थियो।

