पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै मोरोक्को अन्तिम १६ मा
एजेन्सी,असार १६ । मोरोक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जितसँगै मोरोक्कोले क्वाटरफाइनल प्रवेशका लागि सह–आयोजक क्यानडासँग जुलाई ४ मा ह्युस्टनमा प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्स यस विश्वकपबाट बाहिरिने दोस्रो युरोपेली टोली बनेको छ। यसअघि जर्मनी पराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो।
खेलको सुरुआतदेखि नै मोरोक्कोले दबाब बनाए पनि पहिलो हाफमा दुवै टोली गोल गर्न असफल भए। २०औँ र २१औँ मिनेटमा निल एल आयनाउई तथा कप्तान अक्राफ हाकिमीका प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले उत्कृष्ट बचाउ गरेका थिए। यता ४४औँ मिनेटमा मिकी भान डे भेनको प्रहारलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले रोके।
७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। वाउट वेघोर्स्टको फ्लिक र क्रिसेन्सियो समरभिलको पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए। गोलपछि गाक्पो भावुक बनेका थिए, किनभने उनले र उनकी पत्नीले हालै गर्भावस्थामै आफ्नो छोरालाई गुमाएको दुःखद समाचार सार्वजनिक गरेका थिए।
तर इन्जुरी समयमा ताल्बीको क्रसमा इशा डियोपले हेडमार्फत बराबरी गोल गर्दै मोरोक्कोलाई खेलमा फर्काए। यो डियोपको अन्तर्राष्ट्रिय करियरको पहिलो गोल थियो।
अतिरिक्त समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल हुन सकेन। त्यसपछि भएको पेनाल्टी सुटआउटमा गोलरक्षक यासिन बोनो नायक बने। उनले महत्वपूर्ण बचाउ गर्दै मोरोक्कोलाई ३–२ को जित दिलाए भने पाँचौँ पेनाल्टीमा साइबरीले निर्णायक गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए।

