एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, विश्वकपमा नयाँ कीर्तिमान



काठमाडौं,असार १७ – किलियन एम्बाप्पेको दुई गोलको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको अन्तिम ३२ को खेलमा एम्बाप्पेले ४५औँ र ७४औँ मिनेटमा गोल गरे भने अर्को गोल ब्राड्ली बारकोलाले ५३औँ मिनेटमा गरेका थिए। खेलभर आक्रामक देखिएको फ्रान्सले सुरुआतदेखि नै स्विडेनमाथि दबाब कायम राख्दै सहज जित निकालेको हो।

पहिलो हाफमा एम्बाप्पेको एक गोल अफसाइडका कारण रद्द भएको थियो भने अर्को प्रहार पोस्टमा लागेको थियो। माइकल ओलिसेको ओभरहेड किक पनि बारमा लागेपछि गोल हुन सकेन। तर पहिलो हाफको अन्तिम मिनेटमा एम्बाप्पेले शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५३औँ मिनेटमा ओलिसेको उत्कृष्ट पासमा बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ७४औँ मिनेटमा फेरि ओलिसेकै पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–० को जित सुनिश्चित गर्‍यो।

यससँगै फ्रान्सले जुलाई ४ मा फिलाडेल्फिया स्टेडियममा पाराग्वेविरुद्ध क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याउँदै प्रतियोगिताको इतिहासमा दोस्रो सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोजेलाई पछि पार्दै नयाँ उपलब्धि हासिल गरेका हुन्। साथै, विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने नयाँ कीर्तिमान पनि एम्बाप्पेको नाममा दर्ज भएको छ। उनी यस खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

प्रतिक्रिया दिनुहोस्