हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा, २८ वर्षपछि विश्वकपमा ऐतिहासिक उपलब्धि
एजेन्सी, असार १७ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।
अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि जुलाई ५ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। सन् १९९८ पछि पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेको नर्वेका लागि यो ऐतिहासिक उपलब्धि हो।खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले आकर्षक प्रहारमार्फत नर्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आक्रामक बनेको आइभरी कोस्टका लागि ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काए।
तर खेल सकिन चार मिनेट बाँकी रहँदा प्याट्रिक बर्गको लो क्रसमा एर्लिङ हालान्डले नजिकैबाट गोल गर्दै नर्वेलाई २–१ को रोमाञ्चक जित दिलाए। इन्जुरी समयमा डियालोको उत्कृष्ट फ्रिकिकलाई गोलरक्षक ओर्जान न्युलान्डले बचाउ गर्दै नर्वेको जित सुरक्षित गरे।हालान्डको जारी विश्वकपमा यो पाँचौँ तथा नर्वेका लागि समग्रमा ६०औँ अन्तर्राष्ट्रिय गोल हो। विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी अर्जेन्टिनाका लियोनेल मेस्सी (६ गोल) पछि दोस्रो स्थानमा छन्।
हारपछि आइभरी कोस्टका प्रशिक्षक एमेर्से फाएले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा गोल खाँदा हार बेहोर्नुपरेको बताए। मिडफिल्डर फ्रान्क केसीले पनि खेल बराबरीको रहे पनि सानो गल्तीले टोली विश्वकपबाट बाहिरिएको प्रतिक्रिया दिएका छन्।

