मेक्सिकोको लगातार चौथो जित, इक्वेडरलाई हराउँदै अन्तिम १६ मा प्रवेश
एजेन्सी,असार १७ । सह–आयोजक मेक्सिकोले घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै इक्वेडरलाई २–० ले पराजित गरी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मेक्सिको सिटी स्टेडियममा प्रतिकूल मौसमका कारण खेल एक घण्टा ढिलो सुरु भए पनि त्यसले घरेलु टोलीको प्रदर्शनमा कुनै असर पारेन। सुरुदेखि नै आक्रामक देखिएको मेक्सिकोले पहिलो हाफमै दुई गोल गर्दै सहज जितको आधार बनायो।
खेलको २२औँ मिनेटमा जुलियन किन्योनेसले रोबर्टो अल्भाराडोको लामो पासलाई सदुपयोग गर्दै शानदार गोल गरे। त्यसको नौ मिनेटपछि किन्योनेसकै उत्कृष्ट पासमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता २–० पुर्याए।
दोस्रो हाफमा मेक्सिकोले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। सिजार मोन्टेस र जोहान भास्केजको सशक्त रक्षापंक्तिका साथै गोलरक्षक राउल रान्गेलले लगातार चौथो खेलमा क्लिनसिट राख्दै टोलीको जित सुनिश्चित गरे। इक्वेडरले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। इन्जुरी समयको अन्त्यतिर पिएरो हिन्कापिए रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा सीमित भएको थियो।
यो जितसँगै मेक्सिकोले प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्दै अपराजित यात्रा कायम राखेको छ। अब मेक्सिकोले जुलाई ५ मा मेक्सिको सिटीमै इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग अन्तिम १६ को खेल खेल्नेछ।
यस खेलमा मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा विश्वकपको नकआउट चरणमा सुरुआती टोलीमा स्थान बनाउने इतिहासकै दोस्रो सबैभन्दा कान्छा खेलाडी बने। यसअघि सन् १९५८ मा ब्राजिलका पेलेले उक्त कीर्तिमान बनाएका थिए। दुई गोलमा प्रत्यक्ष भूमिका खेलेका जुलियन किन्योनेस प्लेयर अफ द म्याच घोषित भए।

