ह्यारी केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम–१६ मा, डिआर कङ्गो २-१ ले पराजित



काठमाडौं,असार १८ । कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा लगातार दुई गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम–३२ चरणमा डिआर कङ्गोलाई २–१ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको छ।

अटलान्टा स्टेडियममा बुधबार राति भएको खेलमा डिआर कङ्गोले सातौं मिनेटमै ब्रायन सिपेङ्गाको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि इंग्ल्यान्डले खेलमा दबाब बनाए पनि पहिलो हाफमा गोल गर्न सकेन। डिआर कङ्गोका गोलरक्षक लियोनाल एम्पासीले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए।

दोस्रो हाफमा कप्तान केन इंग्ल्यान्डका उद्धारकर्ता बने। उनले ७५औँ मिनेटमा एन्थोनी गोर्डनको क्रसमा हेडमार्फत बराबरी गोल गरे। त्यसपछि खेल सकिन चार मिनेट बाँकी रहँदा गोर्डनकै पासमा केनले शक्तिशाली प्रहार गर्दै विजयी गोल गरे। विश्वकपमा उनको यो पाँचौं गोल हो।

यस जितसँगै प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड अन्तिम–१६ मा पुगेको छ। अब इंग्ल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा दबाब थेग्न नसक्दा डिआर कङ्गो भने विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्