२ गोलले पछि परेको बेल्जियमको अविश्वसनीय पुनरागमन, सेनेगल विश्वकपबाट बाहिरियो



एजेन्सी,असार १८ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको छ। अन्तिम समयमा अग्रता जोगाउन नसक्दा सेनेगल प्रतियोगिताबाट बाहिरिएको हो।

सिएटलमा सम्पन्न खेलमा सेनेगलले २५औँ मिनेटमा हाबिब डिआरा र ५१औँ मिनेटमा इस्माइला सारको गोलमा २–० को बलियो अग्रता बनाएको थियो। त्यसपछि बेल्जियम विश्वकपबाट बाहिरिने अवस्थामा पुगेको देखिएको थियो।

तर खेलको अन्तिम चार मिनेटमा बेल्जियमले अविश्वसनीय पुनरागमन गर्‍यो। ८६औँ मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले थोमस म्युनियरको क्रसलाई गोलमा परिणत गर्दै टोलीलाई खेलमा फर्काए। त्यसको तीन मिनेटपछि लिएन्ड्रो ट्रोसार्डको क्रसमा युरी टिलेमान्सले हेडमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए।

निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। पेनाल्टी सुटआउटतर्फ जाने अनुमान गरिएका बेला अतिरिक्त समयको इन्जुरी समयमा भिएआर समीक्षापछि बेल्जियमले पेनाल्टी पायो। टिलेमान्सले इन्जुरी समयको पाँचौँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब उसले अमेरिका वा बोस्निया–हर्जेगोभिनामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दुई गोलको अग्रता कायम राख्न नसक्दा सेनेगल भने अन्तिम ३२ बाटै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्