६५ दिनभित्र विश्वविद्यालयको नतिजा सार्वजनिक गर्ने तयारी



काठमाडौँ, असार १८ — शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले परीक्षा प्रणालीलाई समयबद्ध, विश्वविद्यालय सुधार र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राख्दै उल्लेखनीय प्रगति भएको जनाएको छ।

मन्त्रालयका अनुसार आगामी वर्षदेखि एसइईको नतिजा परीक्षा सकिएको एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र र विश्वविद्यालयस्तरीय परीक्षाको नतिजा ६५ दिनभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। हाल नौ विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको पनि मन्त्रालयले जनाएको छ।

वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रणालीलाई त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको तथ्याङ्कसँग आबद्ध गरिएको छ भने राष्ट्रिय परिचयपत्र प्रणालीसँग पनि जोड्ने तयारी पूरा भएको छ। पछिल्ला तीन महिनामा ४० हजार ४१३ जनालाई एनओसी र १२ हजार २१० जनाको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विश्वविद्यालयमा दलगत हस्तक्षेप अन्त्य, शिक्षकका लागि ई–पेन्सन कार्ड प्रणाली, विद्यालय शिक्षाको राष्ट्रिय गुणस्तर मापदण्डको अन्तिम मसौदा, डिजिटल हस्ताक्षर प्रमाणीकरण तथा सेवा प्रवाह सुधारका कार्यक्रमसमेत अघि बढाएको जनाएको छ।साथै, त्रिभुवन विश्वविद्यालयका अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट असुल गर्नुपर्ने करिब दुई अर्ब रुपैयाँमध्ये हालसम्म करिब ५० करोड रुपैयाँ फिर्ता भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्