१६ वर्षपछि नकआउटमा जित, स्पेन अन्तिम १६ मा
काठमाडौं,असार १९— स्पेनले फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। योसँगै स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको हो।
लस एन्जलसमा भएको खेलमा स्पेनले सुरुदेखि नै बल आफ्नो नियन्त्रणमा राख्दै अस्ट्रियामाथि निरन्तर दबाब सिर्जना गरेको थियो। पहिलो गोलका लागि भने उसले ३६औँ मिनेटसम्म प्रतीक्षा गर्नुपर्यो। मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई अग्रता दिलाए।
दोस्रो हाफमा स्पेन थप आक्रामक बन्यो। ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। खेल सकिन एक मिनेट बाँकी रहँदा कुकुरेलाकै अर्को उत्कृष्ट पासलाई सदुपयोग गर्दै ओयार्जाबालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। प्रतियोगितामा ओयार्जाबालको यो चौथो गोल हो।
स्पेनले पहिलो हाफमै अर्को गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पछि फाउल ठहर गर्दै उक्त गोल रद्द गरिएको थियो।
अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर श्लागरले केही उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अस्ट्रियाले सिर्जना गरेका सीमित अवसरलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेनले नकआउट चरणमा जित निकाल्न सकेको थिएन। त्यसयता २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक भने उसले त्यो निराशाजनक शृंखला तोडेको छ।
यो जितसँगै स्पेन विश्वकप २०२६ मा लगातार चार खेलसम्म गोल नखाने टोली बनेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि स्पेनले पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

