इन्जुरी समयमा रामोस चम्किए, रोनाल्डोको ऐतिहासिक गोलसँगै पोर्चुगल अन्तिम १६ मा
एजेन्सी,असार १९ । कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप नकआउट चरणको पहिलो गोल र इन्जुरी समयमा गोन्कालो रामोसको निर्णायक हेडरको मद्दतमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको अन्तिम–३२ को खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
त्यसपछि ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। रेनाटो भेइगामाथि निकोला भ्लासिचले फउल गरेपछि प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो विश्वकपको नकआउट चरणमा रोनाल्डोको पहिलो गोल हो।
खेल अतिरिक्त समयमा जाने संकेत देखिइरहेका बेला इन्जुरी समयको चौथो मिनेटमा राफाएल लियाओको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले शक्तिशाली हेडमार्फत विजयी गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाए। उक्त गोल विश्वकपमा पोर्चुगलका लागि इन्जुरी समयमा भएको दोस्रो सबैभन्दा ढिलो गोलसमेत बनेको छ।
अब पोर्चुगलले जुलाई ६ मा अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा युरोपियन च्याम्पियन स्पेनसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ। स्पेनले अन्तिम–३२ मा अष्ट्रियालाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो।

