चुनौती चिर्दै लक्ष्यतर्फ अघि बढ्छ एमाले : अध्यक्ष ओली



काठमाडौं, असार २० — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सबै चुनौती, अवरोध र कुप्रचारलाई चिर्दै आफ्नो लक्ष्य प्राप्तिको दिशामा निरन्तर अघि बढ्ने बताएका छन्।

ललितपुरमा शनिबार आयोजित ‘नेकपा एमाले पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजको जागरण र रूपान्तरणमा एमालेले असाधारण तथा ऐतिहासिक भूमिका निर्वाह गरेको दाबी गरे।

उनले जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउन र मुलुकलाई सही दिशामा नेतृत्व गर्न एमाले सफल भएको बताए। विगतदेखि नै पार्टीले विभिन्न प्रकारका प्रहार, आक्रमण र कुप्रचार सामना गर्दै आएको स्मरण गर्दै उनले ती सबै चुनौतीका बीच पनि एमाले अघि बढिरहेको उल्लेख गरे।

राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै अध्यक्ष ओलीले परिवर्तनको यात्रा सधैँ सहज र सोझो बाटोबाट अघि नबढ्ने बताए। नदीले घुम्ती र अवरोध पार गर्दै आफ्नो गन्तव्य तय गरेजस्तै राजनीतिक आन्दोलनले पनि अनेकौँ चुनौती र मोड पार गर्दै लक्ष्यमा पुग्ने उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्