मोरक्कोको शानदार जित, सह–आयोजक क्यानडाको विश्वकप यात्रा अन्तिम १६ मै समाप्त



एजेन्सी,असार २१ । सह–आयोजक क्यानडाको फिफा विश्वकप २०२६ को यात्रा अन्तिम १६ चरणमै टुंगिएको छ। शनिबार ह्युस्टनमा भएको खेलमा मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मोरक्कोले दोस्रो हाफको पाँचौँ मिनेटमै अग्रता लियो। अचरफ हाकिमीको फ्रिकिकबाट आएको कट–ब्याक पासलाई अजेदिन ओनाहीले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक प्रहार गर्दै गोल गरेका थिए।

ओनाहीले ८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि इन्जुरी समयको आठौँ मिनेटमा डियाजकै अर्को पासमा सौफियान रहिमीले गोल थपेपछि मोरक्कोले ३–० को प्रभावशाली जित दर्ता गर्यो।

खेलको सुरुआत भने क्यानडाले आक्रामक रूपमा गरेको थियो। जोनाथन डेभिड र टानी ओलुवासेयीले सुरुआती ११ मिनेटभित्र उत्कृष्ट अवसर सिर्जना गरे पनि मोरक्कोका गोलरक्षक यासिन बोनोले दुवै प्रयास विफल पारे।

पहिलो हाफभर दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको खेलमा तनाव बढेपछि इंग्लिस रेफ्री माइकल ओलिभरले सात वटा पहेंलो कार्ड देखाएका थिए।

जितसँगै मोरक्को जारी विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ। सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको मोरक्को अब पुनः इतिहास दोहोर्याउने लक्ष्यसहित सेमिफाइनल प्रवेशका लागि एक जित टाढा छ।

पराजित क्यानडाले भने आफ्नै भूमिमा आयोजना भएको विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गर्दै प्रतियोगिताबाट बिदा लिएको छ। क्यानडाले पुरुष विश्वकप इतिहासमा पहिलो पटक अंक, पहिलो जित, पहिलो पटक समूह चरण पार गर्दै पहिलो पटक नकआउट चरणसम्म पुग्ने सफलता हासिल गरेको हो।

प्रतिक्रिया दिनुहोस्