एमबाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा, अब मोरक्कोसँग भिड्ने



एजेन्सी,असार २१ । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत फिलाडेल्फियामा भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पाराग्वेले अनुशासित र सशक्त रक्षापंक्तिका कारण फ्रान्सलाई लामो समयसम्म गोल गर्न दिएन। पहिलो हाफमा दुवै टोलीले गोलपोस्टको दिशामा कुनै प्रभावकारी प्रहार गर्न सकेका थिएनन्।

दोस्रो हाफमा फ्रान्सले खेलको गति बढायो। ५४औँ मिनेटमा मानु कोनेले फ्रान्सका लागि पहिलो पटक गोलपोस्टको दिशामा प्रहार गरे पनि पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले उत्कृष्ट बचाउ गरे।

खेलको ७०औँ मिनेटमा भने फ्रान्सले निर्णायक अवसर पायो। दोस्रो हाफमा मैदान प्रवेश गरेका डिजिरे डुएलाई पेनाल्टी क्षेत्रमा डिएगो गोमेजले लडाएपछि भिएआर समीक्षा पश्चात् रेफ्रीले पेनाल्टी दिएका थिए। त्यसको सदुपयोग गर्दै कप्तान किलियन एमबाप्पेले गोल गरे र फ्रान्सलाई १–० को अग्रता दिलाए।

एमबाप्पेको उक्त गोल नै खेलको निर्णायक बन्यो। यो जारी विश्वकपमा उनको सातौँ गोल हो। यससँगै उनी गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनेल मेस्सीको बराबरीमा पुगेका छन्। विश्वकपमा एमबाप्पेको कुल गोल संख्या १८ पुगेको छ।

३८ डिग्री सेल्सियसको अत्यधिक गर्मीबीच खेलिएको खेलमा फ्रान्सले बलमा नियन्त्रण कायम राखे पनि पाराग्वेको संगठित रक्षापंक्तिलाई भत्काउन निकै संघर्ष गर्नुपरेको थियो।

जितसँगै फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोसँग भेट पक्का गरेको छ। मोरक्कोले अन्तिम १६ मा सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

सन् २०१० पछि पहिलो पटक विश्वकप खेलेको पाराग्वेको भने अन्तिम १६ मै यात्रा समाप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्