‘सरकारले प्रेस स्वतन्त्रता खुम्च्यायो, सञ्चारमाध्यमप्रति दृष्टिकोण संकुचित’ – महासंघ अध्यक्ष शर्मा



ललितपुर,असार २१ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोण संकुचित बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गरेको आरोप लगाएकी छन्।

ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि नयाँ सरकार गठन भएको सय दिन बितिसक्दा सञ्चार क्षेत्रप्रति सरकारको व्यवहारमा अपेक्षित सकारात्मक परिवर्तन नदेखिएको बताइन्।

उनले पत्रकारहरूको सूचनामा पहुँच सीमित हुँदै गएको उल्लेख गर्दै सिंहदरबारका मन्त्रालयसम्म पुग्न सक्ने पत्रकारहरूलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि प्रवेश गर्न नदिइने अवस्था रहेको दाबी गरिन्। संसदीय समितिहरूमा समेत पत्रकारहरूको सहज प्रवेशमा अवरोध रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।

अध्यक्ष शर्माले सरकारले आर्थिक माध्यमबाट पनि प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै सूचना माग्ने, प्राप्त गर्ने तथा तथ्य पुष्टि गरेर समाचार प्रकाशन–प्रसारण गर्ने संवैधानिक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिइन्।

उनले सरकार संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध देखिन नसकेको टिप्पणी गर्दै सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा तत्काल सुधार आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्