स्थानीय न्याय सुधारमा जोड, पञ्चकन्यामा अन्तरपालिका न्यायिक अनुभव आदान–प्रदान सम्पन्न
नुवाकोट,असार २१ । पञ्चकन्या गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय न्यायिक अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष तथा न्याय समिति संयोजक बिमला केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख, न्याय समितिका पदाधिकारी, जनप्रतिनिधि, वडाध्यक्ष, कर्मचारी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय तहमा न्याय सम्पादनका क्रममा प्राप्त अनुभव, असल अभ्यास, देखिएका समस्या तथा चुनौती, कानुनी प्रक्रिया तथा न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायबारे विस्तृत छलफल गरिएको थियो। साथै आगामी कार्यदिशाबारे सहभागीहरूबीच अनुभव आदान–प्रदान गर्दै स्थानीय न्याय प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा साझा धारणा निर्माण गरिएको थियो।
कार्यक्रमले स्थानीय तहका न्याय समितिहरूबीच आपसी सिकाइ, समन्वय र सहकार्यलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। यसबाट नागरिकलाई सरल, सहज, छिटोछरितो तथा प्रभावकारी न्यायिक सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको समापनमा सहभागी सबै पालिकाका उपप्रमुख, न्याय समितिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी तथा अन्य सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

